साउन ३०, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट हराएका ५६ जनामध्ये ५३ जनालाई फेला पारेको छ । हराएकामध्ये तीन जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्मल थापाका अनुसार उक्त अवधिमा हराएका २३ महिलामध्ये २२ जना फेला परेका छन् ।
यस्तै, १४ पुरुषमध्ये १३ जना, पाँच बालकमध्ये चार जना र चार ज्येष्ठ नागरिकमध्ये तीन जना फेला परेका छन् । हराएका १० बालिका भने सबै फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हराएका व्यक्तिको खोजीका क्रममा चार जना भने मृत अवस्थामा भेटिएका छन्। प्रहरी र स्थानीयवासीको संयुक्त खोजी तथा निरन्तर समन्वयका कारण अधिकांश हराएका व्यक्ति फेला पार्न सफल भएको सूचना अधिकारी थापाले बताउनुभयो ।
प्रहरीका अनुसार सोलुखुम्बुमा मानिस हराउनुका विभिन्न कारण देखिएका छन् । पारिवारिक विवाद, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, रोजगारीका लागि घरबाट बाहिरिएपछि सम्पर्कविहीन हुनु तथा भागी विवाह लगायत कारणले मानिसहरू हराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
हराएका व्यक्तिको खोजीका लागि प्रहरी कार्यालयले स्थानीय तह, जनप्रतिनिधि, परिवार तथा स्थानीयवासीसँग समन्वय गर्दै आएको छ । हराएका व्यक्तिको समयमै खोजी गर्न परिवार तथा आफन्तले प्रहरीलाई तत्काल जानकारी गराउनुपर्ने प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अझै सम्पर्कविहीन रहेका तीन जनाको खोजी कार्यसमेत जारी रहेको छ ।











Discussion about this post