सोलुखुम्बु, साउन ३० । सोलुखुम्बुस्थित प्रदेश सरकार मातहतका कार्यालयहरूले गत आर्थिक वर्ष २०८२÷८३ मा १ करोड ३९ लाख १ हजार ४ सय ५७ रुपैयाँ राजस्व संकलन गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका अनुसार जिल्लामा रहेका प्रदेश मातहतका २४ कार्यालयमध्ये स्थानीय तहबाहेकका विभिन्न कार्यालयहरूले उक्त रकम प्रदेश सरकारको खातामा दाखिला गरेका हुन् । राजस्व संकलनमा डिभिजन वन कार्यालय सोलुखुम्बु सबैभन्दा अगाडि रहेको छ।
कार्यालयले गत आर्थिक वर्षमा ७० लाख ३५ हजार ६ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको छ। त्यसपछि घरेलु तथा साना उद्योग कार्यालयले २८ लाख १५ हजार ५ सय ५० रुपैयाँ तथा कृषि ज्ञान केन्द्रले १६ लाख ६५ हजार ४ सय ९० रुपैयाँ राजस्व संकलन गरेका छन् । त्यसैगरी, प्रदेश लेखा इकाइ कार्यालयले १५ लाख ४७ हजार ८ सय ५० रुपैयाँ, जिल्ला अस्पताल सोलुखुम्बुले २ लाख ११ हजार २ सय रुपैयाँ तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले २७ हजार ८ सय ९५ रुपैयाँ राजस्व संकलन गरेका छन् ।
यस्तै, स्वास्थ्य कार्यालय सोलुखुम्बुले ५ हजार रुपैयाँ, जलस्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालयले २ लाख ९४ हजार ६ सय ७६ रुपैयाँ र पूर्वाधार विकास कार्यालयले २ लाख ९८ हजार १ सय १६ रुपैयाँ राजस्व संकलन गरेका छन् । प्रदेश मातहतका कार्यालयहरूले कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा, ठेक्का सम्झौता, वनजन्य वस्तुको बिक्री तथा अन्य प्रशासनिक गतिविधिबाट राजस्व संकलन गर्ने गरेका छन् ।
उपलब्ध तथ्यांकअनुसार कुल राजस्वमध्ये डिभिजन वन कार्यालयको योगदान सबैभन्दा बढी रहेको छ। वन कार्यालयले संकलन गरेको ७० लाख ३५ हजार ६ सय ७८ रुपैयाँ मात्रै कुल राजस्वको करिब आधाभन्दा बढी हिस्सा हो ।










Discussion about this post