भदौ ३०, सोलुखुम्बु । सोलुखुम्बुमा जबरजस्ती करणी उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला अदालत सोलुखुम्बुबाट २ वर्ष ११ महिना ८ दिन कैद र ३० हजार रुपियाँ जरिबाना तोकिएका सोलुदुधकुण्ड नगरपालिका–४, लुराटोल निवासी ३८ वर्षीय सुम्बा शेर्पा पक्राउ परेका हुन् ।
सिन्धुली जिल्लामा लुकीछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीको समन्वयमा उनलाई भदौ २६ गते नियन्त्रणमा लिएको थियो । पक्राउ परेका शेर्पालाई कैद तथा जरिबाना असुलउपरका लागि सोमबार सोलुखुम्बु जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतको आदेशपछि उनलाई तोकिएको कैद भुक्तानका लागि कारागार कार्यालय सोलुखुम्बु पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।










Discussion about this post