भदौ ३०, सोलुखुम्बु । ६२औँ राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा ऐसेलुखर्क गाउँपालिकामा निम्न माध्यमिक तहस्तरीय हाजिरीजवाफ, माध्यमिक तहस्तरीय वक्तृत्वकला तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सामाजिक विकास समिति संयोजक टेकेन्द्र राजभण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
हाजिरीजवाफ प्रतियोगितामा गाउँपालिकाका १४ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा ऐसेलुखर्क–३ स्थित त्रिभुवन माध्यमिक विद्यालय प्रथम, ऐसेलुखर्क–७ को माक्पा माध्यमिक विद्यालय द्वितीय, ऐसेलुखर्क–४ को गुँरास आधारभूत विद्यालय तृतीय र ऐसेलुखर्क–५ को शिशु माध्यमिक विद्यालय सान्त्वना भएका छन् ।
त्यस्तै, माध्यमिक तहस्तरीय वक्तृत्वकला प्रतियोगितामा सात विद्यालय सहभागी भएका थिए । उक्त प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय प्रथम, माक्पा माध्यमिक विद्यालय द्वितीय, ऐसेलुखर्क–१ को कालिका बाल विकास माध्यमिक विद्यालय तृतीय र शिशु माध्यमिक विद्यालय सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०८२ को पालिकास्तरीय कक्षा ८ को वार्षिक परीक्षामा उच्च अंक ल्याउने विद्यार्थी तथा २०८२ सालको एसइई परीक्षामा गाउँपालिकाबाट उच्च जिपिए प्राप्त गर्ने विद्यार्थीलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कक्षा ८ को वार्षिक परीक्षामा उच्च अंक प्राप्त गर्ने त्रिभुवन माध्यमिक विद्यालय, ऐसेलुखर्क–३ का प्रशन्न बस्नेत र एसइई परीक्षामा उच्च जिपिए प्राप्त गर्ने त्रिभुवन माध्यमिक विद्यालय, ऐसेलुखर्क–७ की स्पन्दना राईलाई सम्मान गरिएको हो । राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ ।










Discussion about this post