असोज १, सोलुखुम्बु । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजा गरी यो पर्व मनाउने परम्परा रहेको छ । यस अवसरमा विभिन्न कलकारखाना, उद्योग तथा निर्माणसँग सम्बन्धित स्थलमा विश्वकर्मा भगवान्को तस्बिर तथा मूर्ति स्थापना गरी विधिपूर्वक पूजाआराधना गरिन्छ ।
कलकारखाना तथा कार्यस्थललाई विशेषरूपमा सजाएर श्रमिक तथा कालिगढले पर्व मनाउने गरेका छन् । विश्वकर्मा पूजाका दिन कालिगढ तथा श्रमिकले दैनिक काममा प्रयोग गर्ने औजार, मेसिन तथा उपकरणको समेत पूजा गर्ने चलन छ । औजारको पूजा गरेमा लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने तथा काम राम्रोसँग गर्न सकिने धार्मिक विश्वास रहिआएको छ ।
पूजाका लागि बालुवा तथा अन्य सामग्रीबाट निर्माण गरिएको विश्वकर्माको मूर्ति पूजा सम्पन्न भएपछि वाग्मतीको मुहानस्थल सुन्दरीजललगायत शुद्ध जलाशयमा लगेर विसर्जन गर्ने परम्परा पनि छ । धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई लुकाएको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुकला, निर्माण तथा शिल्पकलाका देवताका रूपमा पूजा गर्ने गरिन्छ ।










Discussion about this post