असाेज १, साेलुखुम्बु । सोलुखुम्बुमा आज विश्वकर्मा पूजा उल्लासपूर्वक मनाइएको छ । हरेक वर्ष असोज १ गते मनाइने विश्वकर्मा पूजा जिल्लामा पनि धातु, हातहतियार तथा मेसिनरी सामग्रीसँग सम्बन्धित व्यवसायी र कामदारले पूजा आराधना गरी मनाएका हुन् । विश्वकर्मा पूजाका अवसरमा सवारीसाधनका धनी तथा ग्यारेज सञ्चालकहरूले आफ्ना वर्कसप तथा ग्यारेज सरसफाइ गरी चिटिक्क पारेर विश्वकर्माको प्रतिमा स्थापना गर्दै पूजा गरेका छन् ।
सल्लेरीस्थित अटो वर्कसप सञ्चालक विकेश महतोले व्यवसायमा सफलता र प्रगतिको कामना गर्दै विश्वकर्माको पूजा गरेको बताउनुभयो । यस्तै, ग्यारेज व्यवसायी सन्तोष ताजपुरीयाले विश्वकर्माको पूजा गरेपछि धातुजन्य काम तथा व्यवसायमा शुभ हुने विश्वास रहेको बताउनुभयो । सवारीसाधन चालक हरि कार्कीले विश्वकर्माको पूजा गरेमा गाडी तथा सवारीसाधनले दुःख नदिने र कम बिग्रने धार्मिक विश्वास रहेको बताउनुभयो ।
हिन्दू धार्मिक मान्यताअनुसार विश्वकर्मालाई देवताका शिल्पी तथा निर्माणकलाका देवताका रूपमा पूजा गर्ने गरिन्छ। विशेषगरी मेसिन, औजार, कलकारखाना, सवारीसाधन तथा धातुजन्य सामग्रीसँग सम्बन्धित व्यक्ति तथा व्यवसायीले विश्वकर्मा पूजा गर्ने परम्परा रहँदै आएको छ।










Discussion about this post