असोज १, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–५, रुपाटार रामपुरस्थित पञ्चावती आधारभूत विद्यालयमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था ताप्ली शाखाको आयोजनामा विद्यार्थीको बौद्धिक विकासमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीलाई अङ्ग्रेजी तथा नेपाली व्याकरणका पुस्तकसहित आवश्यक स्टेसनरी सामग्री प्रदान गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्था ताप्ली शाखाका प्रबन्धक अन्तोषकुमार शाहले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक शेरजङ्ग ठकुरीले जीवन विकास लघुवित्तले स्थानीय महिलालाई बचत गर्ने बानीको विकाससँगै विभिन्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराई व्यावसायिक गतिविधि तथा जीविकोपार्जनमा सहयोग गर्दै आएको बताउनुभयो ।
उहाँले संस्थाले महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्नुका साथै विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमार्फत बौद्धिक विकासमा समेत योगदान पुर्याउँदै आएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । जीवन विकास लघुवित्तले बचत तथा ऋण प्रवाहसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत साना भौतिक सहयोग, सामाजिक सचेतना, सामूहिक सरसफाइ तथा विभिन्न आवश्यक सामग्री वितरणलगायतका गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।










Discussion about this post