असोज ५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१० दिमिलमा मकैबारी हेरचाह गर्न बसेका एक व्यक्तिमाथि भालुले आक्रमण गरेको छ । भालुको आक्रमणबाट स्थानीय ५३ वर्षीय पासाङ शेर्पा घाइते हुनुभएको छ । पारिवारिक स्रोतका अनुसार रातको समयमा मकैबारीमा भालु आएर मकै खाने गरेको पाइएपछि शेर्पा बाली जोगाउन मकैबारीमा हेरचाह गरेर बस्नुभएको थियो ।
सोमबार बिहान करिब ५ः३० बजे मकैबारीमा पुगेको भालुले उहाँमाथि आक्रमण गरेको जनाइएको छ । भालुको आक्रमणबाट शेर्पा सामान्य घाइते हुनुभएको छ । उहाँको ओङ्छु शेर्पा मेमोरियल अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । मकै पाक्ने समयमा वन्यजन्तुबाट बाली जोगाउन स्थानीयवासी रातको समयमा खेतबारीमा बस्ने गरेका छन् । पछिल्लो घटनापछि स्थानीयवासीमा वन्यजन्तुको जोखिम बढेको भन्दै सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ ।










Discussion about this post