असोज ५, सोलुखुम्बु । बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूका लागि सुरक्षित, समावेशी र बालमैत्री वातावरण निर्माण गर्ने अभियान सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा तीव्र बनेको छ । यही अभियानअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लु असोज २५ गते बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित अन्तिम तयारीमा जुटेको छ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माणसँगै बाल अधिकारको सुनिश्चितता र उनीहरूको सहभागितालाई प्राथमिकतामा राख्दै वडा कार्यालयले विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको वडा अध्यक्ष युवास तामाङले बताउनुभएको छ । फाप्लुलाई बालमैत्री वडा घोषणा गर्ने अभियान केवल वडा कार्यालयको मात्र नभई सम्पूर्ण समुदायको साझा अभियान भएको भन्दै अध्यक्ष तामाङले राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्वास्थ्य संस्था, वडा बाल सञ्जाल, बाल क्लब, टोल विकास संस्था, गुठी, वन उपभोक्ता समिति तथा सम्पूर्ण वडावासीलाई सक्रिय सहभागिताका लागि आग्रह गर्नुभएको छ । बालमैत्री वडा घोषणाको तयारीस्वरूप वडा कार्यालयले बाल सञ्जाल तथा बाल क्लबका लागि दुईदिने क्षमता विकास तालिम सम्पन्न गरेको छ । त्यस्तै, वडा कार्यालयका कर्मचारी तथा शिक्षकका लागि अनुशिक्षण कार्यक्रम, फाप्लु बजार क्षेत्रमा ‘बालश्रममुक्त मेरो व्यवसाय’ स्टिकर टाँस अभियान तथा विद्यालय अनुगमन पनि गरिएको छ ।
सोमबार बालमैत्री वडा घोषणाउन्मुख अभियानकै क्रममा हाजिरीजवाफ कार्यक्रमसमेत आयोजना गरिएको छ । यी कार्यक्रमले बालबालिकालाई आफ्ना अधिकारबारे सचेत बनाउनुका साथै उनीहरूको नेतृत्व क्षमता र निर्णय प्रक्रियामा सहभागितालाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ । ‘बालबालिकामा लगानी सबैको सरोकार, बालमैत्री नगर विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ अघि बढेको अभियानले अहिले सोलुदुधकुण्ड नगरपालिकाका विभिन्न वडामा गति लिएको छ । नेपाल सरकारले वि.सं. २०६८ सालदेखि कार्यान्वयनमा ल्याएको बालमैत्री स्थानीय शासनको अवधारणालाई आत्मसात गर्दै सोलुदुधकुण्ड नगरपालिकाका वडाहरू क्रमशः बालमैत्री घोषणाको चरणमा पुगेका हुन् । सरकारले निर्धारण गरेका ५१ वटा सूचकमध्ये ५० वटा अर्थात् ९८ प्रतिशतभन्दा बढी सूचक पूरा गरेपछि वडाहरूलाई बालमैत्री घोषणा गर्ने प्रक्रियामा अघि बढाइएको हो ।
यस अभियानमा सोलुदुधकुण्ड नगरपालिका–७ गार्माले वि.सं. २०८२ जेठ २९ गते जिल्लाकै पहिलो बालमैत्री शासनयुक्त वडाका रूपमा घोषणा हुने सफलता हासिल गरेको थियो । गार्माले आफ्नो पहिलो वार्षिकोत्सवसमेत मनाइसकेको छ । गार्मापछि वि.सं. २०८३ असार ३ गते वडा नम्बर ३ तामाखानी जिल्लाकै दोस्रो बालमैत्री वडा घोषणा भएको हो । दुई वटा वडा बालमैत्री घोषणा भइसकेको अवस्थामा अहिले वडा नम्बर १ टाक्सिन्दु, ४ फाप्लु, ८ केरुङ र १० टाप्टिङ पनि घोषणाको अन्तिम तयारीमा छन् । नगरपालिकाका बाँकी वडाहरूलाई समेत बालमैत्री बनाउने उद्देश्यले पूर्वतयारी, क्षमता विकास, सचेतना तथा समुदाय परिचालनका कार्यक्रमलाई तीव्रता दिइएको नगरपालिकाले जनाएको छ ।
बालमैत्री वडा घोषणा गर्नु केवल एउटा औपचारिक कार्यक्रम मात्र होइन । बालबालिकाले सुरक्षित वातावरणमा हुर्किन पाउने अधिकार, शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र सम्मानको सुनिश्चितता गर्ने दीर्घकालीन प्रतिबद्धता पनि हो । त्यसैले फाप्लुलाई बालमैत्री वडा बनाउने अभियानमा जनप्रतिनिधिदेखि शिक्षक, अभिभावक, बालबालिका, व्यवसायी, सामाजिक संघसंस्था हुँदै सम्पूर्ण समुदायको भूमिका महत्वपूर्ण देखिन्छ । स्थानीय सरकार, जनप्रतिनिधि र समुदायको सामूहिक प्रतिबद्धतासँगै सोलुदुधकुण्ड नगरपालिका बाल अधिकारको सुनिश्चितता र बालमैत्री विकासतर्फ अघि बढिरहेको छ ।










Discussion about this post