असोज ७, सोलुखुम्बु । मौसम पूर्वानुमान अनुसार अत्यधिक भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बु जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति (डीडीएमसी) को बैठकले बाढी, पहिरो तथा डुबानको जोखिम न्यूनीकरणका लागि बहुपक्षीय रणनीतिक निर्णयहरू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरको अध्यक्षतामा बसेको बैठकले असोज ८ गतेदेखि १२ गतेसम्म अत्यधिक भारी वर्षा हुने अनुमान गरिएकाले उच्च जोखिमयुक्त स्थानहरूको पहिचान गरी स्थानीय तह तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा तयारी हालतमा रहने निर्णय गरेको छ । विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित पर्याप्त संख्यामा तयारी अवस्थामा राखिएको छ । यसैगरी, सम्भावित मानवीय क्षति रोक्न जिल्ला अस्पताल फाप्लु तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरूलाई आवश्यक औषधि, प्राथमिक उपचार सामग्री (ँष्चकत ब्ष्म प्ष्त) सहित तम्तयार रहन निर्देशन दिइएको छ ।
खाद्य संकट हुन नदिन सबै स्थानीय तह, उद्योग वाणिज्य संघ तथा नेपाल रेडक्रस सोसाइटीलाई खाद्यान्न तथा गैरखाद्य सामग्रीहरूको आवश्यक भण्डारण गर्न भनिएको छ । जिल्लाभित्रका खानेपानी, विद्युत्, सञ्चार तथा स्वास्थ्य जस्ता अत्यावश्यक सेवाहरू अवरुद्ध हुन नदिन सम्बन्धित कार्यालयहरूलाई पूर्वतयारी गर्न निर्देशन दिइएको छ ।
साथै, स्थानीय तहहरूले तत्काल प्रयोग गर्न मिल्ने गरी खुला क्षेत्र, सुरक्षित आश्रयस्थल, हेलिप्याड, गोदामघर, दमकल, एम्बुलेन्स, स्काभेटर तथा सवारी साधनहरू चालकसहित तयारी अवस्थामा राख्नुपर्ने निर्णय भएको छ । पूर्वतयारीलाई थप कडाइ गर्दै जिल्लास्थित सबै कार्यालय प्रमुख, मातहतका कर्मचारी तथा स्वास्थ्यकर्मीहरूलाई असोज १५ गतेसम्म जिल्ला बाहिर जाने गरी बिदा तथा काज स्वीकृत नगर्ने निर्णय गरिएको छ ।
यसैबीच, थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटस्थित दुधकोशी नदीको मोटरेबल पुलको पिल्लरको जग भत्किँदै गएको र सोताङ तथा महाकुलुङ गाउँपालिकाको यातायात सम्पर्क विच्छेद हुने खतरा रहेकोले तत्काल मर्मतका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
विपद् पूर्वसूचना तथा जनचेतनामूलक सामग्रीहरू प्रसारणका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखासँग समन्वय गर्ने व्यवस्था मिलाइएको छ । कुनै पनि विपद्का घटना वा सम्भावित जोखिमको जानकारी जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको फोन नम्बर १२३४ वा जिल्ला प्रहरी कार्यालयको १०० नम्बरमा तुरुन्त उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।











Discussion about this post