असोज ७, सोलुखुम्बु । सोलुखुम्बुमा निजी गुम्बा तथा घरबाट भाँडाकुँडा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा मिन्दुपाके टोल बस्ने पसी लामाको निजी गुम्बा र घरको ढोकाको ताल्चा फोडी चोरी भएको थियो । असोज १ गते राति करिब १२ बजे काँस, तामा र पित्तलका सामग्रीहरू चोरी गरी लुकाइछिपाई राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा लिखुपिके गाउँपालिका–२ गोली बस्ने २७ वर्षीय दावा तामाङ (दिनेश), सोलुदुधकुण्ड नगरपालिका–६ थातेङ बस्ने ३८ वर्षीय लक्ष्मण कामी तथा कानुनको विवादमा परेका एक १७ वर्षीय किशोर रहेका छन् । प्रहरीले नाबालिगको हकमा पहिचान गोप्य राखेको छ ।
उनीहरूको साथबाट ५० किलोग्राम बराबरका तामा, काँस र पित्तलका भाँडाकुँडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी तथा प्रहरी निरीक्षक संजिव कुमार यादवले जानकारी दिनुभयो । चोरी कार्यमा संलग्न तीनै जनालाई असोज ४ गते नियन्त्रणमा लिई जिल्ला अदालत सोलुखुम्बुबाट म्याद थप गरेर आवश्यक थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।










Discussion about this post