असोज ७, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वडा नम्बर १ का पूर्ववडाध्यक्ष छोङवा लामा नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। लामाको नेतृत्व चयनसँगै नगर कांग्रेसमा गगन थापा पक्षको प्रभाव देखिएको छ।
नयाँ नेतृत्व चयनका लागि आयोजित अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कार्यसम्पादन समिति सदस्य आङ्गेलु शेर्पाको प्रमुख आतिथ्यता तथा नगर सभापति एवं वडा नम्बर ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न भएको हो। अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शेर्पाले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सर्वसम्मत नेतृत्व चयनको प्रयास हुनु सुखद पक्ष भएको बताए ।
उनले सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउँदै संगठनलाई एकताबद्ध रूपमा अघि बढाउन सहयोग पुग्ने धारणा राखे। कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले नेपाली कांग्रेस देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्दै आएको पार्टी भएको उल्लेख गर्दै देशलाई सही दिशामा अघि बढाउन पार्टीभित्रको एकता र संगठन सुदृढीकरण आवश्यक रहेको बताएका थिए।
नगरपालिकाकी उपप्रमुख गान्धिमाया तामाङले सोलुदूधकुण्ड नगरपालिकामा नेपाली कांग्रेसको उपस्थिति र संगठनात्मक अवस्था राम्रो रहेको बताइन्। उनले स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, विचार र जनताको अपेक्षाअनुसार काम गर्दै संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिइन्।
अधिवेशनमा विभिन्न वडाका वडाध्यक्षसहित निर्वाचित जनप्रतिनिधि, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला तहका पदाधिकारी तथा अधिवेशनका लागि निर्वाचित क्षेत्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अधिवेशनले छोङवा लामालाई नगर सभापतिमा सर्वसम्मत निर्वाचित गर्दै नयाँ नगर नेतृत्व चयन गरेको हो। नयाँ नेतृत्वसँगै सोलुदूधकुण्ड नगर कांग्रेसमा संगठनलाई थप व्यवस्थित, एकताबद्ध र सक्रिय बनाउने अपेक्षा गरिएको छ।











Discussion about this post