असोज ७, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका ४ स्थित बाक्सिला बजारमा गरिएको बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका विभिन्न दैनिक उपभोग्य वस्तु जफत गरी नष्ट गरिएको छ। जिल्ला प्रशासन कार्यालय, केपिलासगढी गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय दिक्तेलको नियमित संयुक्त अनुगमन टोलीले केपिलासगढी गाउँपालिका–४ स्थित बाक्सिला बजारमा अनुगमन गरेको हो।
केपिलासगढी गाउँपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७६ बमोजिम गरिएको उक्त अनुगमनका क्रममा म्याद नाघेका सामग्रीहरू बरामद गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाद्वारा जारी विवरण अनुसार बजारका विभिन्न पसलहरूबाट करिब ३८ हजार २७० रुपियाँ बराबरका अखाद्य तथा म्याद नाघेका सामग्री नियन्त्रणमा लिई नष्ट गरिएको छ।
जफत गरी नष्ट गरिएका वस्तुहरूमा बिस्कुट, चकलेट, दालमोठ, ड्यु, बोतल मिरिण्डा तथा पेप्सी, थुक्पा र चाउचाउ बरामद गरी नष्ट गरिएको छ। चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्यमा पर्ने असरलाई न्यूनीकरण गर्न तथा बजारमा कालोबजारी र अखाद्य वस्तुको बिक्रीवितरण नियन्त्रण गर्न नियमित अनुगमनलाई तीव्रता दिइएको गाउँपालिकाले स्पष्ट पारेको छ।










Discussion about this post