असोज ८, सोलुखुम्बु । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ। यस्तै, मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा आज राति भारी वर्षाको सम्भावना रहे पनि लामो समयसम्म निरन्तर भारी वर्षा हुने अवस्था देखिएको छैन।
उहाँका अनुसार पर्सिसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम तथा बेलाबेलामा भारी वर्षाको क्रम जारी रहनेछ। आइतबारसम्म देशका धेरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यस्तै, बंगालको खाडीमा विकसित शक्तिशाली न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दैछ। यही प्रणालीको प्रभावस्वरूप बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढेको महाशाखाले जनाएको छ।
मौसम विभागले जारी गरेको विशेष बुलेटिनअनुसार आगामी आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी तथा अति भारी वर्षाको सम्भावना छ। मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा कर्णाली प्रदेशमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित भारी वर्षा र हिमपातको उच्च जोखिमलाई मध्यनजर गर्दै मौसम पूर्वानुमान महाशाखाले हिमाली क्षेत्रमा पदयात्राका लागि पुगेकाहरूलाई तत्काल सुरक्षित स्थानमा फर्किन आग्रह गरेको छ।
साथै, हिमाली क्षेत्रमा जाने तयारीमा रहेकाहरूलाई यात्रा स्थगित गर्न अनुरोध गरिएको छ। मौसमविद्हरूले असोज ९ देखि ११ गतेसम्म निरन्तर वर्षा हुन सक्ने र त्यसका कारण बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने बताएका छन्। जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा समेत स्थगित गर्न आग्रह गरिएको छ।










Discussion about this post