असोज ८, सोलुखुम्बु । लगातारको प्रतिकूल मौसम तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले शुक्रबार पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा बिदा दिएको छ। गाउँपालिकाको गाउँ कार्यपालिका कार्यालयले बिहीबार एक जरुरी सूचना जारी गर्दै विपद्को जोखिम न्यूनीकरणका लागि अध्यक्षस्तरीय निर्णयानुसार असोज ९ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको जानकारी गराएको हो।
मौसम विज्ञान विभागको मौसमी बुलेटिनअनुसार असोज ८ गते बिहीबारदेखि १२ गते सोमबारसम्म कोशी प्रदेशमा समेत मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। अविरल वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहाव बढ्ने र खोला तथा नदीहरूमा जलसतह बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गरी विद्यार्थी तथा शिक्षकहरूको सुरक्षाका लागि बिदा दिइएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सविता राईले जानकारी दिनुभयो।
गाउँपालिकाले वर्षाका कारण सम्भावित प्राकृतिक विपद्को जोखिम कायमै रहेकाले नदी तथा खोला किनार र पहिरोग्रस्त क्षेत्र आसपासका स्थानीय बासिन्दाहरूलाई समेत सतर्कता अपनाउन अनुरोध गरेको छ।










Discussion about this post