असोज ८, खोटाङ । नेपाली कांग्रेस खोटाङले प्रतिकूल मौसमका कारण प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरेको छ। नेपाली कांग्रेस खोटाङ जिल्ला कार्यसमितिले बिहीबार जारी गरेको सूचनाअनुसार बङ्गालको खाडीबाट विकसित हुँदै आएको भीषण हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै अधिवेशन स्थगित गरिएको हो।
मौसमविद् तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाअनुसार असोज ९ देखि १२ गतेसम्म भारी वर्षा हुने सम्भावना रहेकाले यसअघि असोज १० गतेका लागि निर्धारण गरिएको प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तत्कालका लागि स्थगित गरिएको जिल्ला कार्यसमितिले जनाएको छ। जिल्ला कार्यसमितिका सचिव समीर राईद्वारा जारी सूचनामा अधिवेशनको नयाँ मिति तत्काल तय नभएको उल्लेख छ। मौसमको अवस्था र अनुकूलता हेरी अधिवेशनको नयाँ मिति तय गरिने जनाइएको छ।
अधिवेशनका लागि तयारी भइरहेका बेला मौसम प्रतिकूल बनेपछि कांग्रेस खोटाङले जोखिमलाई ध्यान दिँदै कार्यक्रम स्थगित गरेको हो। भारी वर्षा तथा हावाहुरीका कारण आवतजावतमा समस्या तथा अन्य जोखिम हुनसक्ने भएकाले अधिवेशनमा सहभागी हुने नेता तथा प्रतिनिधिहरूको सुरक्षालाई प्राथमिकता दिइएको देखिन्छ। जिल्ला कार्यसमितिले जिल्लावासीलाई पनि मौसमको अवस्थाप्रति सचेत रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।










Discussion about this post