असोज ८, सोलुखुम्बु । निरन्तरको वर्षातका कारण हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म वर्षासम्बन्धी सतर्कता अपनाउन आग्रह गरेपछि जिल्लावासीमा थप त्रास देखिएको छ । असोज ७ गते अपराह्नदेखि लगातार भइरहेको वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरू प्रभावित भएका छन्। सामान्य वर्षामै अवरुद्ध हुने ग्रामीण सडकहरू लामो समयदेखिको वर्षाका कारण ठाउँ–ठाउँमा अवरुद्ध हुँदा यातायात तथा दैनिक आवतजावतमा समस्या भएको छ ।
वर्षाका कारण विद्यालय सञ्चालनमा समेत असर परेको छ। बजार क्षेत्रमा व्यवसायिक गतिविधि घटेका छन् भने कतिपय पसलका सटरहरू सुनसान देखिन थालेका छन्। सडक तथा यातायात प्रभावित हुँदा व्यापार, व्यवसाय र सर्वसाधारणको दैनिक गतिविधिमा प्रत्यक्ष असर परेको छ। वर्षाको प्रभाव यातायातसँगै पर्यटन तथा होटल व्यवसायमा समेत परेको छ । विशेषगरी खुम्बु क्षेत्रमा अहिले पर्यटकीय सिजन सुरु हुने समय भएकाले लगातारको वर्षाले पर्यटकको आवतजावत तथा पर्यटन व्यवसाय प्रभावित हुने अवस्था देखिएको छ।
यसैबीच, असोज ९ गते जिल्लामा भारी वर्षा हुनसक्ने पूर्वानुमान सार्वजनिक भएपछि सम्भावित जोखिमलाई लिएर स्थानीयवासीमा थप चिन्ता बढेको छ। पहाडी तथा हिमाली भूगोलका कारण लगातारको वर्षाले सडक अवरोध, पहिरो तथा यातायातमा थप समस्या निम्त्याउन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले समेत जिल्लाभित्रका सडकमा सवारी सञ्चालनसम्बन्धी सावधानी अपनाउन सूचना जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार जोखिमलाई ध्यानमा राख्दै जिल्लाभित्रका सडकमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ। प्रशासनले वर्षाका कारण उत्पन्न हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै अनावश्यक यात्रा नगर्न तथा सडकको अवस्था बुझेर मात्र आवतजावत गर्न आग्रह गरेको छ। गातारको वर्षाले सडक, यातायात, शिक्षा, व्यापार व्यवसाय र पर्यटन क्षेत्रमा एकैसाथ असर देखिन थालेपछि सोलुखुम्बुको जनजीवन मौसममा आएको प्रतिकूलतासँगै थप प्रभावित बन्दै गएको छ।











Discussion about this post