असोज ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले भारी वर्षा तथा सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका शैक्षिक संस्था बन्द रहने जनाएको छ । गाउँपालिकाले बिहीबार जारी गरेको सूचनामा नेपाल मौसम विज्ञान विभागको मौसमी बुलेटिनअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान रहेकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
वर्षाका कारण विभिन्न किसिमका प्राकृतिक विपद् तथा जोखिम हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै विद्यार्थी तथा शिक्षक–कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखेर गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असोज ९ गतेदेखि नियमित कक्षा सञ्चालन नगर्न तथा अतिरिक्त कक्षा र अन्य अतिरिक्त क्रियाकलापसमेत नगराउन भनिएको छ । गाउँपालिका अध्यक्ष धनजन राइले अभिभावकलाई समेत बिदाको समयमा आफ्ना छोराछोरीको विशेष ख्याल राख्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन दिन तथा सम्भावित जोखिमबाट सुरक्षित राख्न आग्रह गर्नुभएकाे छ।
जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना औंल्याउँदै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।











Discussion about this post