असोज ९, सोलुखुम्बु । सोलुखोलामा पानीको बहावले सतर्कता तह पार गरेपछि सोलुखोला करिडोरमा सञ्चालित विद्युत आयोजनाहरूले विद्युत उत्पादन बन्द गरेका छन्। निरन्तरको वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि करिडोरका करिब २ सय ३३ मेगावाट विद्युत उत्पादन क्षमता भएका आयोजनाहरू बन्द गरिएका हुन्। प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरका अनुसार सोलुखोलाको बहाव क्षेत्रमा रहेका विद्युत गृहहरूले सतर्कताका लागि विद्युत उत्पादन रोकेका छन्।
नदीमा पानीको बहावसँगै लेदो तथा गेग्रानसमेत आउन सक्ने भएकाले आयोजनाका संरचनामा क्षति पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै विद्युत गृहहरू बन्द गरिएको हो । पानीको बहाव बढेपछि आयोजनाहरूले ड्यामका ढोकासमेत खोलातर्फ फर्काएका छन्। बाढीमा ढुंगा, माटो, लेदो तथा गेग्रान बगेर आउँदा बाँध, इन्टेक, सुरुङ तथा अन्य संरचनामा क्षति पुग्न सक्ने भएकाले आयोजनाहरूले पूर्वसतर्कता अपनाएका हुन् ।
सोलुखोला करिडोरमा ८६ मेगावाट, ८२ मेगावाट र २७ दशमलव ५ मेगावाटलगायत विद्युत उत्पादन क्षमता भएका आयोजना सञ्चालनमा छन्। ती आयोजनाहरूले नदीको बहाव र मौसमको अवस्थालाई ध्यानमा राख्दै विद्युत उत्पादन अस्थायी रूपमा बन्द गरेका गर्न लगाइएकाे प्रजिअ कमान सिंह थापा मगरले बताउनुभयाे । लगातारको वर्षाका कारण सोलुखोलासहित जिल्लाका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढेको छ। नदीको बहाव बढेसँगै बाढी, कटान तथा पहिरोको जोखिमसमेत बढेको प्रशासनले जनाएको छ ।
विद्युत आयोजना क्षेत्रमा पानीको बहाव निरन्तर अनुगमन भइरहेको र अवस्था सामान्य भएपछि आयोजनाहरूले विद्युत उत्पादन पुनः सञ्चालन गर्ने जनाइएको छ। प्रशासनले नदी तथा खोलाको आसपासका बस्ती र संरचनामा जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ।










Discussion about this post