असोज ९, सोलुखुम्बु । अविरल वर्षाका कारण सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८, ९ र १० मा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने भएको छ । नगरपालिकाका अनुसार ती वडाका विभिन्न स्थानमा विद्युतका खम्बा ढलेका कारण विद्युत आपूर्ति अवरुद्ध भएको छ ।
केरुङ क्षेत्रमा पहिरोले विद्युतका पोल ढलाएपछि शनिवार दिन भर जसो यि ३ वडामा विद्युत अवरुद्ध हुने भएको हो । विद्युत अवरुद्ध भएपछि पत्ताले क्षेत्रमा रहेका सञ्चार गहहरु, नेपाल टेलीकमका टावर समेत अवरुद्ध बनेका छन् । वर्षाका कारण पहिरो, बाढी तथा खोलानालामा पानीको बहाव बढिरहेको अवस्थामा विद्युतका खम्बा तथा तार ढलेका क्षेत्रमा थप जोखिम हुन सक्ने भएकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
विशेषगरी ढलेका विद्युतका खम्बा, तार तथा अन्य विद्युत उपकरणबाट टाढा रहन र विद्युतका तार तथा खम्बा आफैंले छोने वा हटाउने प्रयास नगर्न नेपाल विद्युत प्राधिकरण सल्लेरी वितरण केन्द्रले आग्रह गरेकाे छ । यस्तै, पहिरो, बाढी तथा खोलानालाको जोखिम भएका स्थानमा नजान, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिको विशेष ख्याल गर्न र आवश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
टेलिफोन तथा मोबाइल नेटवर्कसमेत अवरुद्ध हुन सक्ने भएकाले आवश्यक सञ्चारका लागि वैकल्पिक व्यवस्था तयार राख्न सम्बन्धित वडावासीलाई अनुरोध गरिएको छ । अविरल वर्षाका कारण उत्पन्न विषम परिस्थितिमा सम्पूर्ण वडावासीलाई संयमित, सतर्क र सुरक्षित रहन आग्रह गरिएको छ।











Discussion about this post