असोज ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुले बालमैत्री वडा घोषणा गर्न आवश्यक ४७ वटा सूचक पूरा गरेको छ । बालमैत्री वडा घोषणा उन्मुख अभियान सुरु गरेको एक वर्ष छ महिना छ दिनमा वडाले निर्धारित सूचक पूरा गरेको हो । वडाले शुक्रबार बालमैत्री वडा घोषणा उन्मुख अभियानअन्तर्गत हालसम्मको प्रगति प्रमाणीकरण कार्यक्रम आयोजना गर्दै आगामी असोज २५ गते बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित अन्तिम तयारी भइरहेको जानकारी दिएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–४ मा कुल एक हजार ४१३ जनसङ्ख्यामध्ये २९३ जना बालबालिका रहेका छन् । बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूका लागि सुरक्षित, समावेशी तथा बालमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले वडा तहमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । बालमैत्री शासन अभियानकर्ता तथा प्रशिक्षक सुमन ढकालका अनुसार वडामा बालमैत्री पद्धति र व्यवहारलाई संस्थागत गर्न निरन्तर प्रयास आवश्यक देखिएको छ । उहाँका अनुसार बालमैत्री संरचनाको कमी, विद्यालयका शौचालयमा साबुन तथा पानीको पर्याप्त व्यवस्था नहुनु, समुदायमा साबुनपानीले हात धुने अभ्यास संस्थागत नहुनु, बालबालिकाको चौतर्फी विकासका लागि आवश्यक बाल उद्यान निर्माण नहुनुलगायतका विषयमा थप सुधार आवश्यक रहेको छ । बालमैत्री व्यवहार कार्यान्वयनका लागि निरन्तर जानकारी, अभिमुखीकरण र समय दिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सूचकगत प्रगतिको प्रस्तुतीकरण तथा सूचक प्रमाणीकरण गरिएको थियो । त्यस्तै बालमैत्री रणनीतिक योजना निर्माण, बाल उद्यान निर्माण तथा कार्यान्वयन र जिल्ला समन्वय समितिमा प्रतिवेदन पेस गरी अनुगमन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ । वडा अध्यक्ष युवास तामाङले बालबालिकाको उज्ज्वल भविष्य निर्माणसँगै बाल अधिकार सुनिश्चित गर्न र बालबालिकाको सहभागितालाई प्राथमिकतामा राखेर वडा कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । फाप्लुलाई बालमैत्री वडा घोषणा गर्ने अभियान वडा कार्यालयको मात्र नभई सम्पूर्ण समुदायको साझा अभियान भएको उहाँले बताउनुभयो ।
अभियानमा राजनीतिक दल, विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्वास्थ्य संस्था, वडा बाल सञ्जाल, बाल क्लब, टोल विकास संस्था, गुठी, वन उपभोक्ता समिति तथा वडावासीको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ । सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङले २०८३ सालभित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्यअनुसार नगरका वडाहरूले सञ्चालन गरिरहेका अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले बालमैत्री वडा घोषणा अभियानमा भइरहेको प्रगतिप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी वक्ताहरूले बालमैत्री वडा तथा नगर घोषणा अभियानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
‘बालबालिकामा लगानी सबैको सरोकार, बालमैत्री नगर विकास र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ सोलुदुधकुण्ड नगरपालिकामा बालमैत्री स्थानीय शासन अभियान सञ्चालन भइरहेको छ । नेपाल सरकारले विसं २०६८ देखि कार्यान्वयनमा ल्याएको बालमैत्री स्थानीय शासनको अवधारणाअनुसार नगरका विभिन्न वडाहरू क्रमशः बालमैत्री घोषणा हुने चरणमा पुगेका हुन् । सरकारले निर्धारण गरेका ५१ वटा सूचकमध्ये ५० वटा अर्थात् ९८ प्रतिशतभन्दा बढी सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गर्ने प्रक्रियामा अघि बढाइने व्यवस्था रहेको जनाइएको छ ।










Discussion about this post