असोज १२, सोलुखुम्बु । मनाङको नापाभूमि गाउँपालिका–५ स्थित ७ हजार १२६ मिटर अग्लो हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाहरूको खोजी कार्य जारी रहेको छ। मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार आज बिहानैदेखि हेलिकप्टरमार्फत तीन जनाको टोली खोजीमा परिचालन गरिएको छ। हिमपहिरोमा परी कुल २७ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ११ जना सम्पर्कमा आएका छन्। उनीहरू पैदल हिँडेर आफैँ फु गाउँ आइपुगेका हुन्।
दुई जनाको शव फेला परेको छ। फेला परेका शव काठमाडौं पठाउने तयारी भइरहेको पौडेलले जानकारी दिनुभयो। अझै १४ जना सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य भइरहेको छ। खोजी कार्यका लागि अनुभवी गाइडहरू समेत परिचालन गरिएको छ। मौसम खुलेका कारण आज खोजी तथा उद्धारमा समस्या नआउने अपेक्षा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो।
हिम्लुङ हिमालमा हिजो हिमपहिरो खसेपछि आरोहण तथा सहयोगी टोलीका सदस्यहरू सम्पर्कविहीन भएका थिए।










Discussion about this post