असोज १५, सोलुखुम्बु । खोटाङको ऐँसेलुखर्क गाउँपालिका–३ का सुरज राईको शव मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा भेटिएको छ। हिमपहिरोमा परी हराइरहेका राईको शव बिहीबार भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार घटनास्थलमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा पाँच जना अनुभवी क्लाइम्बिङ गाइडको विशेष टोली खोज तथा उद्धारमा खटिएको थियो। उक्त टोलीले हिउँ पन्छाएर राईको शव निकालेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो। हिमपहिरोमा हराइरहेका अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको उहाँले जानकारी दिनुभयो।
यसअघि आइतबार र सोमबार गरिएको खोजीका क्रममा वीरेन्द्र गुरुङ, घनश्याम राई, छेवी भोटे र पासाङ भोटेको शव भेटिएको थियो। सुरज राईको शव भेटिएसँगै हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या थपिएको छ।










Discussion about this post