असोज १८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट एक महिनामै करिब ३ टन ब्रोइलरको मासु सदरमुकाम सल्लेरी पठाइएको छ । स्थानीयस्तरमा उत्पादन भएको ब्रोइलर कुखुरालाई प्रशोधन गरी सल्लेरीका विभिन्न फ्रेस हाउसमा बिक्रीका लागि पठाउन थालिएको हो ।
नेचासल्यान गाउँपालिका–१ का मासु व्यवसायी तथा कुखुरा पालक नवराज मगरका अनुसार पछिल्लो एक महिनामा मात्रै करिब ३ टन ब्रोइलरको मासु सल्लेरी पठाइएको छ । यसमध्ये करिब १ हजार ५ सय किलो मासु मगर आफैंले उत्पादन गरेका कुखुराबाट र बाँकी १ हजार ५ सय किलो स्थानीय अन्य किसानबाट संकलन गरिएको हो ।
स्थानीयस्तरमा उत्पादन भएको कुखुराको मासु प्रशोधन गरी सदरमुकामका फ्रेस हाउसमा पठाउने गरिएको मगरले बताउनुभयो । उहाँका अनुसार एक महिनामा ३ टन मासु सल्लेरी पठाइएको परिमाण हालसम्मकै धेरै हो ।
केही वर्षअघिसम्म सल्लेरीबाट नेचासल्यानतर्फ ब्रोइलर तथा मासुजन्य उत्पादन जाने गरेकोमा पछिल्लो समय अवस्था फेरिएको छ । अहिले नेचासल्यानमै उत्पादन बढेपछि स्थानीय उत्पादन सल्लेरीतर्फ पठाउन थालिएको हो ।
स्थानीय उत्पादनले बजारको माग धान्न थालेपछि किसान तथा व्यवसायीको आम्दानीको स्रोतसमेत विस्तार भएको छ । गाउँमै उत्पादन भएको कुखुराको मासु सदरमुकामसम्म पुग्न थालेपछि स्थानीय उत्पादनको बजार सुनिश्चित हुने अवस्था बनेको व्यवसायीको भनाइ छ ।
नेचासल्यान गाउँपालिकाका पशु प्राविधिक विनोद कोइरालाका अनुसार पछिल्लो समय गाउँपालिकामा ब्रोइलर तथा अन्य मासुजन्य उत्पादन बढ्दै गएको छ । स्थानीय उत्पादनले माग धान्ने अवस्था बन्दै गएसँगै मासुजन्य उत्पादनमा नेचासल्यान आत्मनिर्भर बन्दै गएको उहाँको भनाइ छ ।
स्थानीय किसानले व्यावसायिक रुपमा कुखुरापालन गर्न थालेसँगै गाउँपालिकाबाट बाहिरिनेभन्दा स्थानीयस्तरमै उत्पादन हुने मासुको मात्रा बढेको छ । उत्पादन र बजारबीचको सम्बन्ध विस्तार गर्न सके नेचासल्यानबाट सल्लेरीसहित जिल्लाका अन्य बजारमा समेत मासु आपूर्ति बढाउन सकिने सम्भावना देखिएको छ ।










Discussion about this post