असोज १९, सोलुखुम्बु । देशमा हाल मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका सबै भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागमा मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
लुम्बिनी प्रदेशका तराई भू–भागमा आंशिक बदली भए पनि अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। महाशाखाका अनुसार सोमबार देशका विभिन्न भू–भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने अनुमान गरिएको छ।
कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भाग तथा देशका तराई क्षेत्रमा भने आंशिक बदली रहने सम्भावना छ। दिउँसो तथा रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ भने ती प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।











Discussion about this post