असोज १९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रभित्रका नदी तथा खोलाहरूबाट अनाधिकृत रूपमा ढुङ्गा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ । नगरपालिकाले एक जरुरी सूचना जारी गर्दै ठेक्का व्यवस्थापनको प्रक्रिया पूरा नभएसम्म यस्तो कार्य पूर्ण रूपमा बन्द गर्न सचेत गराएको हो।
नगरपालिकाका अनुसार सोलुखोलाबाट नदीजन्य पदार्थको उत्खनन, संकलन तथा व्यवस्थापनका लागि प्रारम्भिक वातावरणीय परीक्षण लगायतका कानुनी तथा प्राविधिक प्रक्रिया पूरा भई हाल बिक्री तथा ठेक्का बन्दोबस्तको कार्य अघि बढाइएको छ । ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेकाले सम्झौता सम्पन्न नभएसम्म कुनै पनि व्यक्ति, फर्म, संस्था वा व्यवसायीलाई नदीजन्य सामग्री संकलन नगर्न आग्रह गरिएको छ । सूचनाको अवज्ञा गरी अवैध रूपमा उत्खनन तथा ओसारपसार गरेको पाइएमा प्रयोग भएका सवारी तथा उपकरण नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कडा जरिवाना र सामग्री जफत गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाद्वारा तोकिएको जरिवाना दरअनुसार स्काभेटर प्रयोग गरी उत्खनन गरेमा प्रतिमेसिन दुई लाख रुपैयाँ जरिवाना हुनेछ। त्यसैगरी ब्याकहो लोडर, ट्रिपर वा ट्रकलाई एक लाख रुपैयाँ, मिनी ट्रक वा मिनी ट्रिपरलाई ५० हजार रुपैयाँ तथा ट्रयाक्टरलाई २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । उत्खननमा संलग्न साधनलाई जरिवाना गर्नुका साथै संकलित सामग्री जफत गरी तोकिएको शुल्कको दोब्बर रकमसमेत असुलउपर गरिने नगरपालिकाले स्पष्ट पारेको छ ।
नदीजन्य सम्पत्तिको दोहन रोक्न स्थानीयवासी, टोल विकास संस्था, सम्बन्धित वडा कार्यालय तथा सुरक्षा निकायलाई निरन्तर निगरानी राख्न अनुरोध गरिएको छ । कतै अवैध उत्खनन भएको पाइएमा तत्काल सम्बन्धित वडा कार्यालय वा नगरपालिकाको नगर प्रहरी शाखामा जानकारी गराउन नगरवासीमा अपिल गरिएको छ ।










Discussion about this post