असोज १९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा अलैँची उत्पादन बढ्दै गएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको हो । केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा १५८ हेक्टर क्षेत्रफलमा लगाइएको अलैँचीबाट ११६ दशमलव ९२ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा उत्पादन बढेर १३४ दशमलव ५ मेट्रिक टन पुगेको थियो भने आर्थिक वर्ष २०८२/८३ मा १३४ दशमलव ५० मेट्रिक टन अलैँची उत्पादन भएको छ ।
ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर चमारका अनुसार जिल्लामा पछिल्ला तीन वर्षमा अलैँची उत्पादनमा करिब शून्य दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । खोल्साको ‘कालो सुन’ का रूपमा परिचित अलैँची जिल्लाका गोली, भकान्जे, चौलाखर्क, बुदेल, बुङ, सोताङ र अधेरीलगायतका क्षेत्रमा व्यावसायिक रूपमा खेती हुँदै आएको छ । हाल असोज र कात्तिक महिना अलैँची टिप्ने मुख्य समय भएकाले जिल्लाका विभिन्न क्षेत्रका किसानलाई अलैँची टिप्न भ्याइनभ्याइ भएको छ ।
उत्पादन भएको अलैँचीको गुणस्तर कायम राख्न टिपाइदेखि भण्डारणसम्म विशेष सावधानी अपनाउन कृषि प्राविधिकले सुझाव दिएका छन् ।लिखुपिके गाउँपालिकाकी कृषि प्राविधिक शान्ता बस्नेतले अलैँची पूर्ण रूपमा पाकेपछि मात्र टिप्न किसानलाई आग्रह गर्नुभएको छ ।
हाँका अनुसार अलैँची टिप्दा दाना नझर्ने गरी सावधानी अपनाउन, टिपेको अलैँची सफा तथा हावादार भाँडोमा राख्न र भुइँमा सिधै नराख्न आवश्यक छ । त्यस्तै, वर्षा तथा बढी चिस्यानबाट अलैँचीलाई जोगाउनुपर्ने उहाँले बताउनुभयो । टिपिसकेपछि उचित ढङ्गले सुकाउने तथा भण्डारण गर्न सकेमा अलैँचीको गुणस्तर कायम राख्दै किसानले राम्रो मूल्य पाउन सक्ने उहाँको भनाइ छ ।











Discussion about this post