असोज १९, सोलुखुम्बु । दशैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा हिमाली जिल्ला सोलुखुम्बुका सडक मर्मतसम्भार सुरु गरिएको छ । लामो समयको वर्षा, झरी तथा बाढीपहिरोका कारण प्रभावित सडकलाई सहज बनाउन स्थानीय तहहरू सक्रिय भएका हुन् । चाडपर्वका बेला टाढाटाढाबाट नागरिक गाउँ फर्किने भएकाले सडक सञ्जाललाई सहज र सुरक्षित बनाउने कामलाई स्थानीय तहहरूले प्राथमिकतामा राखेका छन् ।
विशेषगरी सदरमुकाम सल्लेरीबाट विभिन्न गाउँपालिका जाने सडकको मर्मतसम्भारमा जोड दिइएको छ । सदरमुकामबाट तुलनात्मक रूपमा टाढा रहेका सोताङ र महाकुलुङ गाउँपालिकामा सडकको अवस्थालाई लिएर नागरिकबाट गुनासो आउने गरेको छ । ती क्षेत्रका सडकको मर्मतसम्भार तथा आवश्यक व्यवस्थापनको काम भइरहेको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । बर्खुघाटबाट सोताङ र महाकुलुङतर्फ जाने सडकलाई नियमित र सुरक्षित रूपमा सञ्चालन गर्न गाउँपालिकाले जेसीबी, स्काभेटर तथा ब्याकहोलोडर तयारी अवस्थामा राखेको सूचना अधिकारी अरुण बस्नेतले बताउनुभयो ।
सोताङबाट महाकुलुङ जाने सडकको स्तरोन्नति तथा आवश्यक तयारीलाई पनि प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष सूर्य कुलुङले सडकलाई चुस्तदुरुस्त राख्न छिमेकी पालिकासँग समन्वय गरेर काम गर्ने गरिएको बताउनुभयो । यता, थुलुङ दूधकोशी गाउँपालिकाभित्रका सडक हाल पूर्ण रूपमा सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । वर्षात, बाढी तथा पहिरोका कारण समय–समयमा अवरुद्ध हुने सडक खुलाउन गाउँपालिका सचेत भएर काम गरिरहेको प्रवक्ता भोजराज कार्कीले बताउनुभयो । गाउँपालिकाको भूगोल कोशीवारि र कोशीपारि रहेकाले सडक मर्मतसम्भारमा समस्या हुने गरेको उहाँको भनाइ छ ।
जिल्लाको एकमात्र नगरपालिका सोलुदूधकुण्डले पनि चाडपर्व लक्षित सडक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ । नागरिकलाई गन्तव्यसम्म पुग्न समस्या नहोस् भन्नेमा नगरपालिका सचेत रहेको प्रशासकीय अधिकृत सुरेन्द्र थापाले बताउनुभयो । यस्तै, माप्य दूधकोशी गाउँपालिका प्रवेश गर्ने सल्लेरी–सेलगुडी–खास्ताप सडक पनि वर्षाका कारण क्षतविक्षत बनेको छ ।
यातायात सञ्चालनमा पूर्ण अवरोध नभए पनि सहज रूपमा सवारी सञ्चालन गर्न कठिन रहेको चालकहरूले बताएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने तथा पर्यटकीय दृष्टिले संवेदनशील मानिने उक्त सडकको नियमित मर्मतसम्भार भइरहेको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनुभयो । नेचासल्यान र लिखुपिके गाउँपालिका प्रवेश गर्ने मुख्य सडक पनि सञ्चालनमा रहे पनि कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको सम्बन्धित पालिकाले जनाएका छन् । ती सडकमा समेत मर्मतसम्भारको काम भइरहेको छ ।










Discussion about this post