असोज २०, सोेलुखुम्बु । नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भए पनि वर्षाको गतिविधि भने बढ्ने भएको छ। मौसमविद्का अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी नेपालमा कायम मनसुनी प्रणालीको प्रभावसँगै बंगालको खाडी र अरेबियन सागरबाट जलवाष्पयुक्त वायु नेपाल भित्रिरहेकाले वर्षाको गतिविधि बढेको हो।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार हिजोको तुलनामा आज र भोलि वर्षा हुने क्षेत्र र वर्षाको मात्रा बढ्ने सम्भावना रहेको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पनि आगामी एक–दुई दिन वर्षाको गतिविधि जारी रहने जनाएको छ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बिहानपख वर्षा केही रोकिए पनि दिउँसोदेखि वर्षाको गतिविधि बढ्ने सम्भावना छ। उहाँका अनुसार आज हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। पश्चिमी भूभागका एक–दुई स्थानमा खण्डित रूपमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
मौसमविद्का अनुसार आगामी तीन दिनसम्म वर्षाको सम्भावना कायमै रहनेछ। विशेषगरी सुदूरपश्चिम, कर्णाली तथा मधेश र कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ। केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।











Discussion about this post