असोज २०, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज पनि बन्दसत्र जारी रहने भएको छ । सोमबारदेखि सुरु भएको बन्दसत्रमा प्रस्तुत भएका चारवटा प्रतिवेदनमाथि आज दोस्रो दिन पनि छलफल हुने भएको हो । बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
प्रस्तुत प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिले धारणा राख्ने क्रम जारी छ । प्रतिवेदनमाथिको छलफल काठमाडौँको खुलामञ्चमा बनाइएका तीनवटा हलमा भइरहेको कांग्रेसले जनाएको छ । बन्दसत्रसँगै आजदेखि पार्टीका विभिन्न पदका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुने भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार अहिलेसम्म सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि उम्मेदवारी फाराम वितरण गरिनेछ भने दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ ।
कांग्रेसका अनुसार निर्वाचन प्रक्रिया र बन्दसत्र समानान्तर रूपमा सञ्चालन हुनेछन् । दिनभर बन्दसत्रसँगै उम्मेदवारको प्रचारप्रसारसमेत चल्ने जनाइएको छ । निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते खुलामञ्च, नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय सभागृहमा मतदान हुने भएको छ । मतदान सम्पन्न भएपछि मतपेटिका पार्टीको केन्द्रीय कार्यालय सानेपामा लगेर मतगणना गरिने कांग्रेसले जनाएको छ ।










Discussion about this post