असार २, सोलुखुम्बु । पूर्वी जिल्ला खोटाङका किसानहरुले मुठी रोपेर मुरी फलाउने समयमा खडेरीले बारीमा मकैका बोट सुक्न थालेका छन् । लामो समय देखि पानी नपरेपछि खडेरीले बारीमा मकैका बोट सुक्न थालेका हुन् । असार लागिसक्दा पनि वर्षा नभएपछि खोटाङलगायत आसपासका जिल्लामा समेत बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् ।
मकै लगाउने समय फागुन, चैतमा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका किसान असार लागिसक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् । ‘बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ’ खोटेहाङ गाउँपालिकाका किसान लोकराज दाहालको भनाई छ ।
हिउँदयाममा राम्रोसँग वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का किसान मनिता मिश्रले बताउनुभयो । मौसम तातिरहेको र गर्मीले हैरान बनाइरहेकाले जनजीवन प्रभावित बनेको किसानको भनाइ रहेको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा पारेको स्थानीयको भनाइ छ । वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् ।
Discussion about this post