असार २, सोलुखुम्बु । खोटाङको जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर ६ स्थीत बुढाभैरुङ आधारभुत विद्यालय (१–५) को भवन उद्घाटन गरिएको छ । शनिवार एक कार्यक्रमका वीच गाउँपालिका अध्यक्ष अरुणा देवी राईको प्रमुख आतिथ्यतामा भवन उद्घाटन गरिएको हो ।
२०४६ सालमा निर्मित विद्यालयमा यस अघि जिर्ण भवनमार्फत पठनपाठन हुँदै आएकोमा अव भने नयाँ भवनमा सहज रुपमा पठनपाठन हुने गाउँपालिकाले जनाएको छ । जन्तेढुङ्गा गाउँपालिकाको १० लाख रुपैयाँ, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको २ लाख ७३ हजार ९५ रुपैयाँ र उपभोक्ताहरुको १ लाख १५ हजार बराबरको जनश्रमदान गरि जम्मा १३ लाख ८८ हजार ९ सय ९९ रुपैयाँको लागतमा ३ कोठे विद्यालय भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनय निरौलाले बताउनुभयो ।
उद्घाटन कार्यक्रमका क्रममा गाउँपालिका अध्यक्ष तथा प्रमुख अरुणा देवी राईले विद्यालयको भौतिक गुणस्तर अभिबृद्धिका लागी आगामी वर्षहरुमा आवश्यकताको आधारमा बजेट विनियोजन गरिने बताउनुभएको छ । यसैवीच साही विद्यालयमा स्थापना गरिएको अक्षय कोषबाट एक जना विद्यार्थीलाई पुरस्कृत समेत गरिएको । विद्यालयका विद्यार्थी पारुहाङ राइनलाई उत्कृष्ठ विद्यार्थी मुल्याङ्कन गरि अक्षय कोषमा उठेको व्याज रकमबाट पुरस्कृत गरिएको हो । हरेक वर्ष विद्यालयका उत्कृष्ठ विद्यार्थीहरुलाई उनिहरुको पठनपाठनका प्रोत्साहन गर्ने हेतुले पुर्व विद्यार्थी मनिकला राई र समिर राईले अक्षयकोषको स्थापना गर्नुभएको थियो ।
सोही अक्षयकोषको रकम मार्फत राईलाई ४ हजार ९ सय रुपैयाँ नगद पुरस्कार वितरण गरिएको नेपाली काङ्ग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर बढाउन विद्यालयमा जनसहभागिता बढाउन आवश्यक रहेको बताउनुभयो ।
यस्तै वडा अध्यक्ष सागर राईले विद्यालयमा आगामी वर्ष बजेट व्यवस्थापन गरि सरस्वती मन्दिर स्थापनाको पहल गर्ने बताउनुभएको छ । कार्यक्रमका जिल्ला समन्वय समितिका सदस्य मोहन सुप्तीहाङ, विद्यालय व्यावस्थापन समिति अध्यक्ष भुपजित राई, प्रधानाध्यापक निर्मला राईलगायतका उपस्थिति रहेको थियो । विद्यार्थी तथा अभिभावक एवं सरोकारवालाहरुको विशेष सहभागिता रहेको जनाइएको छ ।
Discussion about this post