असार ७, सोलुखुम्बु । पूर्वी जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिकामा सुत्केरी कोसेली कार्यक्रम मार्फत ९० जना महिला लाभान्वित भएका छन् । पालिकाले सुत्केरी अवस्थामा पोषिलो खाने कुरासँग जोडेर ल्याएको कार्यक्रम मार्फत ९० जना गर्भवती तथा सुत्केरी महिला लाभान्वित भएका हुन् । गाउँपालिकाले कार्यक्रमकै लागि गत आर्थिक वर्ष २०८०÷०८१ मा १ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई पोषणको अभाव हुन नदिन पालिकाले खाद्य सामग्री वितरण गरेको हो ।
बालबालिकाहरुका लागि आवश्यक पौष्टिक आहार र गर्भवती तथा सुत्केरी महिलाहरुका लागि सरसफाइमा ध्यान दिन समेत स्वास्थ्य शाखाले आग्रह गरेको छ । यहि असार ४ गते वडा नम्बर ४ बाट सुत्केरी महिलाहरुलाई पोसिलो खाध्य तथा सरसफाई सामग्री वितरण गरेको छ । सोताङ गाउँपालिका स्वास्थ्य शाखाका सह संयोजक हरिधनी राईका अनुसार वडा नम्बर ५ मा बढी ३१ जना सुत्केरी महिलाहरुलाई अण्डा, साबुन लगायतका विभिन्न सामाग्रीहरु वितरण गरिएको हो । यस्तै वडा नम्बर १ मा २८ जना, वडा नम्बर २ मा ४ जना, वडा नम्बर ३ मा १३ जना र वडा नम्बर ४ मा १४ जना सुत्केरी महिलाहरुलाई खाद्यन्न तथा सरसफाई सामाग्री प्रदान गरिएको उहाँले उल्ल्ेख गर्नुभयो ।
पालिकामा जन्मिने कुनै पनि बालबालिकाहरु कुपोषणको सिकार बन्नु नपरोस र आमाको स्वास्थ्यमा समेत समस्या नहोस् भन्ने मान्यता सहित सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताउनुभयो । पालिका अध्यक्ष बस्नेतले दुर्गम गाउँका अधिकाशं महिलालाई गर्भवती भएको समयमा पेटमा राम्रो पोषिलो खाने कुरा नपाएर कयौँ बालबालिकाहरु कुपोषिणको सिकार बन्दै जानु पर्ने अवस्थाको अन्त्यका लागि कार्यक्रम संचालन गरिएको हो । पालिकाका प्रत्येक वडामा नै पुगेरे कोसेली दिने गरिएको छ ।
सुत्केरी आमासँग भेटपनि हुने, पोषीलो खाने कुरा खानका लागि सहयोग पनि हुने भएकोले कार्यक्रम दुबै तिरबाट सकारात्मक सन्देश जाने गरेको देखिन्छ । आमा र बच्चामा देखिने कुपोषण दर घटाउनु पनि कार्यक्रमको अर्को उदेश्य राखिएको छ ।
Discussion about this post