असार ९, सोलुखुम्बु । विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिकरुपमा विकट रहेका यहाँका सबै स्थानमा विद्युत् विस्तार भएपछि स्थानीयको दैनिकीमा परिवर्तन आएको हो । अहिले स्थानीयले विद्युत्को उपयोग गर्दै आधुनिक विद्युतीय उपकरण सञ्चालन गरिरहेका छन् ।
विद्युत्ले कुटानीपिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताउनुभयो । अहिले विभिन्न विद्युतीय उपकरण जोडेर दैनिक काम गर्न सक्ने वातावरण बनाइएको उहाँको भनाई छ । वडाध्यक्ष एकराज आचार्यका अनुसार स्थानीयको कुटानी पिसानीको समस्यालाई समाधान गर्दै उनीहरूलाई उद्यमी बनाउन वडाले १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरेको छ । वडा कार्यालयले रु चार लाख ५० हजार खर्च गरेर टोल स्तरमा १६ वटा आधुनिक मिल वितरण गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडाले ‘वैकुण्ठेको उत्पादन काठमाडौँको भान्सामा’ भन्ने नाराका साथ रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएको छ । मिलको सहायताले यहाँ उत्पादन भएका कोदो, फापर, मकै, जौँलगायत रैथाने बालीलाई पिसेर सहरका भान्सामा पुर्याउने योजनाका साथ काम गरिरहेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
Discussion about this post