असार ११, सोलुखुम्बु । खोटाङको साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ सोमबार गाउँपालिकास्थित सभाहलमा सम्पन्न १४औं गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा कूल ३१ करोड २२ लाख अनुमानित बजेट प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षको लागि गाउँपालिकालाई वित्तिय समानिकरण अनुदान अन्तर्गत ६ करोड ९३ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ३८ लाख रुपैंया रकम प्राप्त हुने अनुमान गरिएको छ भने सशर्त अनुदान अन्तर्गत १४ करोड ४३ लाख ८ हजार तथा समपुरक अनुदान अन्तर्गत ६० लाख रुपैंया प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ३९ लाख ५९ हजार, सवारी करबाट २६ लाख ५१ हजार, प्रदेश सशर्त अनुदान तर्फ ९६ लाख ८२ हजार तथा समपुरक अनुदान १ करोड रुपैंया प्राप्त भएको छ भने गाउँपालिकाको आन्तरिक आम्दानी २५ लाख रुपैंया प्रक्षेपण गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-०८१ मा ३३ करोड ८८ लाख ९१ हजार रकम विनियोजन गरेकोमा २०८१ असार ९ गतेसम्म २३ करोड ६२ लाख ९० हजार रुपैया अर्थात कूल बजेटको ६०.८२ प्रतिशत मात्र खर्च गरेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति, कार्यक्रम तथा बजेट गाउँसभामा उपाध्यक्ष बिर्सिका राईले सभामा प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई गाउँसभाले बहुमतले पारित गरेको छ। त्यस्तै उपाध्यक्ष राईले विनियोजन विधेयक, २०८१ र आर्थिक ऐन, २०८१ लाई समेत सभामा पेश गर्नुभएकोमा दुवै विषयलाई सभाबाट बहुमतले पारित गरेको छ । साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले १२ औं गाउँसभादेखि १४औं गाउँसभासम्म आईपुग्दा समग्र साकेलाको विकास प्रकृयामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने, सम्पुर्ण साकेलावासीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
Discussion about this post