असार १६, साेलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका ६ का किसानले लगाएको मकै वालीमा हावाहुरी सहितको पानीले क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नम्बर ६ लट्टेबारी क्षेत्रमा किसानले लगाएको मकैबारी शनिबार हावाहुरी सहित परेको पानीले सखाप बनाएको हो ।
प्राकृतिक विपत्तिका कारण मकैबाली नष्ट भएपछि यहाँका किसान अहिले चिन्तामा छन । निकै ठुलो मेहनतका साथ खेतबारीमा लहलह बनेको मकैबाली हावाहुरीका कारण ढलेपछि किसानको चुल्हो बल्नै सकस हुने गुनासो छ ।
बालबच्चाको पढाइखर्च, वर्षभरि खानपुग्ने अन्नमा हावाहुरीको बज्रपात परेपछि किसानको मेहनतमा अतुलनीय क्षति पुगेको स्थानीय लट्टेबारी टोल विकास संस्थाका अध्यक्ष गोविन्द कुमार खत्रीको भनाई छ । हावाहुरीले ढलेको मकै निरन्तरको बर्षातका कारण उठाउन समेत कठिन भएको बताइएको छ ।
प्रमुख बालीको रूपमा बर्सेनि आलु मकै गहुँ वा कोदो, पिँडालु जस्ता वालीहरू उत्पादन हुने लट्टेबारी क्षेत्रमा यो साल लगाएको मकै वालीको उत्पादन भने निराशामा परिणत भएको अध्यक्ष खत्रीको भनाई छ ।
Discussion about this post