असार २२, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको एक विद्यालयमा कम्प्युटर विज्ञान विषय पठनपाठन हुने भएको छ । चालु शैक्षिक सत्रबाटै कम्प्युटर साइन्स विषय अध्ययन गराउने गरी सम्पूर्ण व्यवस्थापनको काम सकिएको हो ।
जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर ४ गुदेल स्थित गुदेल माविमा यस वर्षबाट उक्त विषय पठनपाठन हुने भएको हो । विगत २५ वर्ष देखी विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गनृका लागी विभिन्न समयमा लगानी गर्दै आइरहेका विदेशी (अस्टे्लियन) नागरिक पिटर स्क्यारोट र बव स्टेवार्टको आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर साइन्स विषय सञ्चालन गर्नेगरी व्यवस्थापन गरिसकिएको प्रधानाध्यापक छलक राम राईले बताउनुभयो ।
अस्टे्लियन नागरिकद्धय को संस्था नेपाल रिमोर्ट स्कुल सपोर्ट फण्डको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा अहिले विद्यालयमा कम्प्युटर विज्ञान विषय अध्ययनका लागी व्यवस्थापन सम्पन्न भएको हो । संस्थाको लगानीमा यस विद्यालयमा ३९ वटा ल्यापटप र १ वटा स्मार्टबोर्ड खरिद गरि जडान गरिसकिएको प्रधानाध्यापक राईले बताउनुभयो ।
उक्त संस्थाले विद्यालयमा अहिले कम्प्युटर कक्षा व्यवस्थापनका लागी सामाग्री खरिद र एक जना शिक्षकको व्यवस्थापन गरेपछि कम्प्युटर विज्ञान विष थप गरिएको हो कक्षा आगामी साउन १५ गतेबाट सुरु हुने र कम्प्युटर साइन्स विषय अन्य जुनसुकै सङ्काय अध्ययन गर्ने विद्यार्थीले पनि ऐच्छिक विषयको रुपमा लिन सक्ने प्रअ राईको भनाई छ ।
नेपाल रिमोर्ट स्कुल सपोर्ट फन्डका सञ्चालक द्धय उनीहरूले विभिन्न समयमा विद्यालयमा आर्थिक सहयोग गर्दै आइरहेका थिए । यस अघि गुदेल माविमा प्लस टु सञ्चालनका लागी पनि उनीहरूले धरौटी रकम बराबरको ८ लाख रकम पनि सहयोग गरेका थिए ।
विद्यालयमा पहिलो ३ वर्ष कम्प्युटर साइन्स कक्षा सञ्चालनका लागी उनीहरूले सहयोग गर्ने र त्यसपछि गाउँपालिका मार्फत सञ्चालन गर्ने गरि सहमति भएको महाकुलुङका गुदेलका वडा अध्यक्ष महल सिं कुलुङको भनाई छ ।
Discussion about this post