असार २३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आज जिल्ला खोप समन्वय समिति सोलुखुम्बुको सभाहलमा समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । राष्ट्रिय खोप निर्देशिकाकाले तोकेको मापदण्ड सबै पुरा गरि आज जिल्लालाई पुर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
जिल्लामा रहेका शून्य देखी ५९ महिना सम्मका कुल ६ हजार ५ सय ७१ जना बालबालिकाले पाउनु पर्ने सबै १३ प्रकारको खोप दिएको सुनिश्चित भएसँगै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएको हो । जिल्लामा यस वर्ष शुन्य देखी १५ महिना सम्मका १ हजार ४ सय ५० र १५ देखी ५९ महिना सम्मका ५ हजार १ सय २१ जना बालबालिका लाई खोप लगाइएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुले सञ्चालन गरेका खोप अभियानमा र घर धुरी सर्वेक्षणका गरि छुटेका सबै बालबालिकालाई खोप लगाइसकिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका अनुसार जिल्लामा शून्य देखी १५ महिना सम्मका यस वर्ष ९ जना बालबालिका खोप लगाउनबाट छुटेका थिए भने २४ जना ड्रप आउट भएका थिए । यस्तै १५ देखी ५९ महिना सम्मका १ जना बालबालिका खोप लगाउन छुटेका थिए भने १६ जना ड्रप आउट भएका थिए ।
पुर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख निरौला, सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धीमाया तामाङ, माप्य दुधकोशी गाउँपालिकाका उपाध्यक्ष गौरव राई, प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री लगायत विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत एवं कर्मचारी हरूको उपस्थिति रहेको थियो ।
Discussion about this post