साउन २, सोलुखुम्बु । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुमा महिला तथा पुरुष खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा आज बुधबारबाट सोलुखुम्बु बहुमुखि क्याम्पसमा अवस्थित कबड हलमा प्रतियोगिता सुरु भएको हो ।
बुधबारबाट सुरु भएको प्रतियोगिता भोलि विहीबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले उद्घाटन गर्नुहुने छ । प्रतियोगिताका लागी १ सय २ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घका कार्यवाहक अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाका अनुसार पुरुष डबल खुल्ला तर्फ १९ टिमले टिम दर्ता गराएका छन ।
यस्तै ७५ वर्ष माथिको पुरुष डबल तर्फ १२ टिम, महिला डबल तर्फ ९ टिम, मिक्स डबल तर्फ १० टिम, १७ वर्ष मुनिको डवल तर्फ १२ टिम, १७ वर्ष मुनिको सिङ्गल तर्फ, १६ टिम, १३ वर्ष मुनि सिङ्गल पुरुष तर्फको १९ टिम र १३ वर्ष मुनिको महिला तर्फ ८ टिम गरि जम्मा १ सय २ टिमको सहभागिता रहेको छ ।
चार दिन सम्म चल्ने प्रतियोगिताको खुल्ला पुरुष डबल तर्फ प्रथम द्वितीय र तृतीय हुने टिमले क्रमशः १५ हजार, १० हजार र ५÷५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै महिला डबल, मिक्स डबल र ७५ वर्ष माथिको पुरुष तर्फ प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूलाई क्रमश : १० हजार, ६ हजार ५ सय, ४ हजार ५ सय रुपैयाँको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घका उपाध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।
१३ वर्ष मुनिका सिङ्गल तथा १७ वर्ष मुनिका डबल र सिङ्गल प्रतियोगिताका प्रतियोगीहरूलाई प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
Discussion about this post