साउन ७, सोलुखुम्बु । भोजपुरको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीयबासी व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरीपालनसम्बन्धी तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् ।
मौरीपालनको प्रशस्त सम्भावना रहेकाले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । यहाँका अधिकांश किसानले व्यावसायिक मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकाले यहाँका बाक्वा, भामला, छापगाउँलगायतका स्थानमा मौरीपालन हुने गरेको छ ।
मौरीपालनसम्बन्धी प्राविधिक ज्ञान र आधुनिक घार बनाउने तालिम पाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहज भएको स्थानीय किसान शरणकुमार बोहोराले बताउनुभयो । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भए पनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उहाँले बताउनुभयो ।
दुई चरणमा तालिम लिएपछि आफैले घार निर्माण गर्न थालेको उहाँको भनाइ छ । अहिले उनले ३५ घार मौरीपालन गरिरहेका छन् । यहाँका अधिकांश क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेकाले किसानलाई प्राविधिक ज्ञानसँगै आधुनिक घार निर्माणको तालिम दिइएको वडाध्यक्ष एकराज आचार्यले जानकारी दिनुभयो । किसानलाई मौरीपालनमा जोड दिएसँगै मह उत्पादन हुन थालेको छ ।
Discussion about this post