साउन २१, सोलुखुम्बु । गैर दलितलाई दलित कोटामा सांसद बनाएपछि नेपाल दलित संघ कोशी प्रदेश कार्यसमितिले ध्यानाकर्षण गराएको छ । गत २०७९ को प्रदेश सभा निर्वाचनमा दलित समुदायको समावेशी कोटामा गुरुङ थरकी महिलालाई समानुपातिक सांसद नियुक्त गरिएको भन्दै दलित संघ प्रदेश कार्य समितिले काङ्ग्रेस कोशी प्रदेश समितिलाई ध्यानाकर्षण गराएको हो ।
काङ्ग्रेसले दलितको समावेशी कोटामा सुनसरीको बर्जू गाउँपालिका वडा नम्बर २ की सुनिता कुमारी गुरुङलाई मनोनित गरेपछि दलित सङ्घ कोशी प्रदेशले उनलाई बर्खास्त गर्न नेपाली कोशी प्रदेश कार्य समितिलाई अनुरोध गर्दै पत्र मार्फत ध्यानाकर्षण गराएको छ ।
नेपालको संविधान २०७२ को मर्म र भावना विपरीत गैर दलित हुनका साथै काङ्ग्रेसको क्रियाशील सदस्य समेत नरहेकी गुरुङलाई प्रदेश सांसदमै नियुक्त गरिएको भन्दै यसले पार्टीको साङ्गठनिक स्थितिमा नकारात्मक असर पर्ने भएकाले उक्त नियुक्ति बर्खास्त गरि बन्द सूचीमा रहेका दलित समुदायका व्यक्तलाई नियुक्त गर्न समेत अनुरोध गरिएको छ ।
अहिलेको काङ्ग्रेस एमाले संयुक्त सरकार रहेकाबेला कोही प्रदेशका विभिन्न निकायमा नियुक्ति गर्दा समावेशीताको सिद्धान्तका आधारमा नियुक्त गर्न पनि दलित सङ्घ कोशी प्रदेशका सभापति गोविन्द विश्वकर्माले काङ्ग्रेस काेशी प्रदेश सभापति उद्वव थापालाइ पत्रमार्फत ध्यानाकर्षण गराउनुभएको छ । उक्त नियुक्तिको विरुद्धमा सर्वोच्च अदालतमा रिट समेत परिसकेको छ ।
Discussion about this post