साउन २९, सोलुखुम्बु । मृत्यु संस्कारमा कार्डबाडेरै निम्तो दिएका दलित समुदायलाई फेरी नआउनु भनेर कार्ड फिर्ता लगेपछि यतिखेर सोलुखम्बु सदरमुकामका दलित समुदाय आक्रोशित बनेका छन् । जिल्लाको सदरमुकाम रहेको सल्लेरी स्थित सोलुदुधकुण्ड नगरपालिका ५ ब्यारेक टोलका दलित समुदायलाई स्थानीय कर्मा शेर्पाको मृत्यु संस्कारमा निम्तो दिइएको थियो । तर पछि फेरी एकाएक निम्तो दिने व्यक्तिहरूले नै कार्ड फिर्ता लगेपछि अहिले यो समुदाय आक्रोशित बनेको छ भने यस विषयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुलाई ध्यानाकर्षण समेत गराएको छ ।
ध्यानाकर्षणका लागी दलित उत्थान सुनौलो समाजको नेतृत्वमा ठुलो दलित समुदायका अगुवा तथा सरोकारवालाहरू जिल्ला प्रशासन कार्यालय आइपुगेका थिए । उनीहरूले प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई ध्यानाकर्षण गराउँदै जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ बमोजिम कारवाही हुनुपर्ने माग गरेका छन । समाजका अध्यक्ष वीर बहादुर घतानीले यस्ता कार्यले दलित समुदायको भावनामा ठेस पुगेको भन्दै शिघ्रातिशीघ्र कारवाही हुनुपर्ने बताउनुभएको छ ।
यस्तै सोलुदुधुकण्ड नगरपालिकाका कार्यपालिका सदस्य निरकुमार नेपालीले पनि दलित समुदायमाथिको विभेद हाल सम्म अन्त्य हुन नसक्नु दुखद रहेको बताउनुभएको छ ।
दलित समुदाय माथि भएको जातिय विभेद अन्त्य गर्न प्रशासन सँग माग गर्दै उनीहरूले माग पुरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख देवी पाण्डे खत्रीले यस्ता कार्य विरुद्ध सुन्य सहनशीलता (जेरो टलरेन्स) अपनाउने बताउनुभएको छ ।
जातीय विभेद कसूर तथा सजाय ऐन २०६८ ले नै नेपालमा जातीय विभेद अन्त्य भएको घोषणा गरेको छ । तर यत्तिका वर्षसम्म पछि पनि यस्ता घटना दोहाेरी रहँदा नेपाली समाजमा अझैपनि जातीय विभेदका रङ्गहरू सक्रिय छन भन्ने बुझिन्छ । यसको पूर्ण उन्मूलनकै लागी सबै तहबाट लाग्दै चेतना जगाउन जरुरी देखिन्छ ।
Discussion about this post