साउन २९, सोलुखुम्बु । चर्चित हास्य टिभी सिरियल ‘सक्किगोनि’ को टिमले बनाउन लागेको फिल्म ‘लाज शरणम’ मा कलाकार बबिन राईको पनि अभिनय रहने भएको छ । उहाँ ‘सक्किगोनि’ सिरियलमा ‘गल्फने बाजे’ को भूमिकामा देखिँदै आउनुभएको छ ।
जहाँ उहाँले प्रयोग गर्ने थेगो ‘बिजोग रमाइलो छ’ छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेको थियो। सिरियलका दर्शकमाझ छोटो समयमै चर्चित उनले फिल्ममा जोडिन पाउँदा खुसी लागेको बताउनुभएको छ । निर्माण कम्पनी जेपीटी क्रियशन र बबिनबीच फिल्ममा काम गर्ने सम्झौता भइसकेको छ ।
’लाज शरणम’ लाई कुमार कट्टेल ‘जिग्री’ ले निर्देशन गर्दै हुनुहुन्छ । यसमा सक्किगोनि टिमबाट सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’ र कमलमणि नेपालको अभिनय रहने यसअघि सार्वजनिक गरिएको थियो। त्यस्तै माला लिम्बु, मुकुन्द श्रेष्ठ, विजय बराल र देशभक्त खनालको पनि शीर्ष भूमिकामा अभिनय रहनेछ।
बबिनसँग भने सोमबार मात्रै सम्झौता भएको हो। अरू को–को कलाकार रहने खुलाइएको छैन। भदौं तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मको निर्मातामा नवीन श्रेष्ठ र सह–निर्मातामा रामनरेश शाह छन्।फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ ।
Discussion about this post