भदौ २, सोलुखुम्बु । सुनसरीको धरानमा तेस्रो संस्करणको ‘सञ्जीवनी अन्तर्राष्ट्रिय फुटसल’ प्रतियोगिता हुने भएको छ । सञ्जीवनी केन्द्रको आयोजनामा आगामी असोज ३ देखि ५ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
सञ्जीवनी केन्द्रले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ । यो प्रतियोगिता कोशी प्रदेशको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हो । प्रतियोगितामा धरान, पोखरा, काठमाडौं, चितवन, झापा, मोरङका साथै भुटान, सिलगुडी, सिक्किम, दार्जिलिङबाट पनि टोलीहरू सहभागी हुने केन्द्रका अध्यक्ष सम्पूर्ण ताम्राकारले जानकरी दिनुभयो । प्रतियोगितामा दर्ता हुन चाहने टिम र खेलाडीले लागुऔषध नियन्त्रण रोकथाम र उपचार क्षेत्रमा कार्यरत कुनै पुनर्स्थापना केन्द्रको प्रतिनिधित्व गरेर मात्र सहभागी हुन पाउने छन् ।
अध्यक्ष ताम्राकारका अनुसार दुर्व्यसनीमा फसेका युवाहरूलाई सामाजिकरण गर्नुका साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएकोमा यो वर्ष ओपन रिकभरिङ टिम, भेट्रान टिमसहित महिला टिमको पनि छुट्टाछुट्टै प्रतिस्पर्धा राखिएको छ । प्रतियोगितामा ओपन रिकभरिङ समूहतर्फको उपाधि विजेता टिमले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । उपविजेताले नगद १ लाखसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ ।
भेट्रानतर्फ प्रथम पुरस्कार नगद ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ पुरस्कार रहेको छ भने महिलातर्फ प्रथम पुरस्कार २० हजार र दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी र गोलकिपरले जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाउने छन् ।
Discussion about this post