भदौ २, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकालाई थप २ वटा एम्बुलेन्स प्राप्त भएको छ । गाउँपालिकालाई शनिबार २ वटा एम्बुलेन्स प्राप्त भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । गाउँपालिकाको अनुरोधमा योनसेइ अस्पताल कोरियाको आर्थिक सहयोग र क्याप्टेन ओम हङ्गील ह्युमन फाउण्डेसनको समन्वयमा गाउँपालिकालाई २ वटा लेटेस्ट मोडेलको एम्बुलेन्स प्राप्त भएको अध्यक्ष शेर्पाको भनाई छ ।
अध्यक्ष शेर्पाले गरेको अनुरोधलाई स्वीकार्दै नेपालमा सामाजिक सेवा गरिरहेका क्याप्टेन ओम हङ्गीलले उक्त अस्पतालसँग गरेको समन्वय पछि गाउँपालिकालाई थप २ वटा एम्बुलेन्स प्राप्त भएको गाउँपालिकाले जनाएको छ । उहाँले ग्रामीण भेगमा शिक्षा क्षेत्रमा अतुलनीय काम गरिरहेका क्याप्टेन हङगीलले आफूले गरेको अनुरोधलाई स्वीकार्दै १ वटा एम्बुलेन्स प्रदान गर्ने बताएकोमा पछि अस्पताल सँग समन्वय गरेपछि फेरी अस्पताललेनै २ वटा एम्बुलेन्स दिने उद्घोषण गरेको स्मरण गर्नुभयो ।
यसरी प्राप्त भएको एम्बुलेन्सले गाउँपालिकामा स्वास्थ्य सेवा प्रवाहमा थप टेवा पुग्ने बताउँदै आफूले भाग्यशाली महसुस गरिरहेको बताउनुभएको छ । पछिल्लो पटक प्राप्त भएका २ वटा एम्बुलेन्स सहित गाउँपालिकामा ५ वटा एम्बुलेन्स जम्मा भएको उहाँको भनाई छ ।
ति मध्ये गाउँपालिकाले १ वटा खरिद गरेको र अन्य ४ वटा विभिन्न दातृ निकायबाट प्राप्त भएको उहाँको भनाई छ । प्राप्त भएका एम्बुलेन्स सोमबार गाउँपालिका पु¥याइने अध्यक्ष शेर्पाले बताउनुभयो । ५ वटै एम्बुलेन्सलाई पालिकाका ९ वटा वडाहरुले सहज रुपमा प्रयोग गर्न सक्नेगरि विभिन्न ५ स्थानमा राखेर सेवामा खटाइने योजना बनाएको पनि अध्यक्ष शेर्पाले बताउनुभयो । क्याप्टेन ओम हङ्गील नेपालको मानार्थ नागरिकता पाउने दोश्रो विदेशी नागरिक हुन ।
Discussion about this post