भदौ ३, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर २ ले काठमाण्डौँबाट २ दिने घुम्ती सेवा प्रवाह गरेको छ । वडा कार्यालयले गत साउन २९ र ३० गते ए वान क्याफे एण्ड पार्टि प्यालेस चाबाहिल काठ्माडौबाट सेवा प्रवाह गरेको हो ।
सोताङ गाउँपालिका वडा नम्बर–२ घर भई हाल काठमाण्डौँ बसोबास गर्दै आएका वडाबासीहरुलाई लक्षित गर्दै सुरु गरिएको घुम्ती सेवाबाट ६१ जना लाभान्वित भएको वडाध्यक्ष श्यामकुमार खालिङले जानकारी दिनुभयो ।
जसमा सामाजिक सुरक्षा भत्ता नविकरण साथै नयाँ भत्ता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई लगायत पञ्जिकरण सम्बन्धि सम्पूर्ण सेवाहरु प्रदान गरिने वडा अध्यक्ष खालिङको भनाई छ । सामान्य प्रशासनिक सेवा लिनकै लागि काठमाण्डौँदेखि हजारौँ खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने नागरिकलाई घुम्ती सेवाले सहजता प्रदान गरेको वडाध्यक्ष खालिङले बताउनुभयो ।
यस प्रकारको सेवा आवश्यकताको आधारमा समय समयमा प्रवाह हुने वडा कार्यालयले जनाएको छ ।
Discussion about this post