भदौ ३, सोलुखुम्बु । सिन्धुलीको जुनार बगैँचाहरूमा चुसाहा पुतली किरा (सुँडे पुतली) को प्रकोप सुरु भएपछि किसान चिन्तित बनेका छन् । सिन्धुलीका केही जुनार बगैँचामा गत वर्ष झैँ यस वर्ष पनि फल छेड्ने र चुस्ने मोथ – सुँडे पुतली देखा पर्न थालेका छन् ।
जिल्लाको गोलन्जोर गाउँपालिका–४ किराते, गोलन्जोर गाउँपालिका –६ नाकाजोली‚धुसुनी, गाउँपालिका –५ रतनचुरा डाँडा र कमलामाई नगरपालिका ३ चपौलीका जुनार बगैँचामा सुँडे पुतली देखा पर्न थालेका हुन् । सिन्धुलीमा गत सालको तुलनामा यो वर्ष छिट्टै सुँडे पुतली देखिएको गोलन्जोर गाउँपालिका – ६ नाकाजोलीका जुनार कृषक ललित मगर बताउँछन् । गत वर्ष झैँ सुँडे किराले फल नै झारिदिने भएकाले जुनारमा धेरै नोक्सानी गर्न सक्ने मगरको भनाइ रहेको छ ।
सिन्धुलीमा गत वर्ष जुनार बगैँचाहरूमा ११ प्रतिशत देखि ४५ प्रतिशतसम्म फलको रस चुसेर नष्ट भएको र अनुमानित २ करोड ५८ लाख रुपैयाँ बराबरको क्षति गरेको जुनार उत्पादक कृषि सहकारी संघ सिन्धुलीका अध्यक्ष निर्मल कुमार रम्तेलले माईशिरलाई बताए । ठाउँ–ठाउँमा देखा परे पनि यसले अहिलेसम्म कुनै क्षति नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सिन्धुलीका कृषि प्राविधिक जहान बहादुर कार्कीले जानकारी दिए ।
Discussion about this post