भदौ ४, सोलुखुम्बु । पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।
गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४–७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ ।
हालसम्म चियाखेतीका लागि गाउँपालिकाले चार करोड ५ं० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । उक्त पालिकाका वडा नम्बर १, २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ । यी वडामा प्रशस्त खाली जमिन छ भने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको छ ।
आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकाले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उहाँको भनाइ छ ।
Discussion about this post