कार्तिक २, साेलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका पालिकाहरूको प्रथम त्रैमासिक पुँजिगत खर्च ८ प्रतिशत पनि नभएको पाइएको छ । सङ्घ र प्रदेश सरकारबाट आर्थिक वर्ष २०८०/८१का लागी विनियोजित पुँजीगत बजेट मध्ये संघ र प्रदेश दुबै तर्फको विकासे बजेट ८ प्रतिशत पनि नभएको हो ।
जबकी सरकारी मापदण्ड अनुसार हरेक त्रैमासिकमा चालु र पुँजिगत दुबै तर्फ २५ प्रतिशत बजेट खर्च गर्नुपर्ने व्यवस्था छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुमा अनुसार जिल्लामा सङ्घ सरकारबाट विनियोजित पुँजिगत तर्फको ४ करोड ९६ लाख ६५ हजार बजेट मध्ये पहिलो त्रैमासिकमा ३६ लाख ४३ हजार ७ सय ८९ दशमलव ८९ रुपैयाँ अर्थात ७ दशमलव ३४ प्रतिशत मात्र खर्च भएको छ ।
यस्तै प्रदेश तर्फको विनियोजित कुल ९ करोड ७९ लाख पुँजिगत बजेट मध्ये जिल्लाका पालिकाहरूले जम्मा ७० लाख ७८ हजार ८ सय ५५ अर्थात ७ दशमलव २३ प्रतिशत मात्र खर्च गरेका छन् । जिल्लामा पहिलो त्रैमासिक पुँजीगत बजेट खर्च औसतमा ८ प्रतिशत पनि हुँदा चालु खर्च भने सङ्घ तर्फको २३ दशमलव ३४ प्रतिशत र प्रदेश तर्फ १४ दशमलव ९८ प्रतिशत भएको छ । ८ वटा पालिका रहेको जिल्लामा सङ्घ सरकारबाट चालु र पुँजीगत तर्फ कुल ३ अर्ब ८२ करोड ५३ लाख १६ हजार ६ सय ७५ बजेट विनियोजन भएको थियो ।
यस्तै प्रदेश बाट चालु र पुँजीगत तर्फ दुबै गरि कुल ४९ करोड ६६ लाख ९ हजार बजेट विनियोजन भएको थियो । जस मध्ये सोलुदुधकुण्ड नगरपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान तर्फको कुल ५१ करोड ९५ लाख ८२ हजार बजेट प्राप्त भएको थियो । जसमध्ये प्रथम त्रैमासिकमा नगरपालिकाले १२ करोड ४५ लाख ७० हजार ५ सय रुपैयाँ अर्थात २३ दशमलव ९८ प्रतिशत खर्च गरेको छ । यस्तै जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई २३ करोड ३७ लाख १८ हजार बजेट प्राप्त भएकोमा प्रथम त्रैमासिकमा गाउँपालिकाले ५ करोड ४ लाख १७ हजार रुपैयाँ अर्थात् २१ दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ ।
यता माप्य दुधकोशीलाई प्राप्त भएको कुल ३१ करोड ३४ लाख २९ हजार ५ सय बजेट मध्ये २२ दशमलव २२ प्रतिशत बजेट खर्च गरेको छ । उता थुलुङ दुधकोशी गाउँपालिकालाई प्राप्त ४९ करोड ८७ लाख १५ हजार मध्ये २३ दशमलव ८८ प्रतिशत, नेचासल्यान लाई प्राप्त ३९ करोड ७२ लाख ६९ हजार बजेट मध्ये २२ दशमलव ७८ प्रतिशत, महाकुलुङलाई प्राप्त कुल २४ करोड ५ लाख ३७ हजार ५ सय मध्ये २३ दशमलव ४१ प्रतिशत, लिखुपिके गाउँपालिकालाई प्राप्त १९ करोड १८ लाख २८ हजार मध्ये २२ दशमलव ८३ प्रतिशत र सोताङलाई प्राप्त कुल २६ करोड ८२ हजार बजेट मध्ये २३ दशमलव १६ प्रतिशत खर्च गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले संघ र प्रदेश तर्फबाट पालिकाहरूलाई अनुदानमा प्राप्त बजेट हरेक ३ महिनामा भुक्तानी गर्नुपर्ने कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नवीन राईले बताउनुभयो ।
Discussion about this post