कार्तिक ४, सोलुखुम्बु । कोशी प्रदेशमा झण्डै ३ अर्ब रुपैयाँ दस्तुर यातायात क्षेत्रबाट उठेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा यातायात क्षेत्रको सेवा शुल्क र दस्तुरबाट मात्रै २ अर्ब ९३ करोड ९१ लाख ४ हजार ६ सय ७९ रुपैयाँ शुल्क उठेको हो । प्रदेशभरि रहेका ८ वटा यातायात व्यवस्था सेवा कार्यालयबाट उक्त रकम सङ्कलन भएको कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत रहेको यातायात व्यवस्था शाखाले जनाएको हो ।
यातायात क्षेत्रको दस्तुर र करले प्रदेशको वार्षिक बजेटको ४५ प्रतिशत हिस्सामा योगदान गर्ने गरेको जनाइएको छ । शाखाका अनुसार गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा यातायात क्षेत्रको दस्तुर र कर सङ्कलन बढेको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ८० करोड २० लाख ३० हजार ४ सय १२ रुपैयाँ कर र दस्तुर उठ्दा गत वर्ष १३ करोडले वृद्धि भएको जनाइएको छ । प्रदेशका ८ ओटा यातायात व्यवस्था सेवा कार्यालय मध्ये यातायात व्यवस्था सेवा कार्यालय ( सवारी ) इटहरीमा सबैभन्दा धेरै राजस्व उठेको छ । उक्त कार्यालयमा इटहरी १ अर्ब १७ करोड ४४ लाख ५७ हजार ३ सय ४५ रुपैयाँ कर र दस्तुर सङ्कलन भएको शाखाका सूचना अधिकारी सुभास कार्कीले बताउनुभयो ।
कार्कीका अनुसार यातायात व्यवस्था सेवा कार्यालय इलामले गत आ/व मा १० करोड ९८ लाख ७४ हजार ३ सय ७३ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यस्तै यातायात व्यवस्था कार्यालय झापाले ९३ करोड २१ लाख ६६ हजार ८ सय १३, यातायात व्यवस्था सेवा कार्यालय धनकुटाले ६ करोड ९ लाख १५ हजार १ सय ७२, यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) इटहरीले १५ करोड २ लाख ४१ हजार ५ सय, यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले ३६ करोड ७७ लाख ८२ हजार ८ सय ३५, यता सोही कार्यालय ओखलढुङ्गाले ३ करोड ५६ लाख ५७ हजार ३ सय ५७ र यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले १० करोड ८० लाख ९ हजार २ सय ८४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
प्रदेशभरिका सवारी दर्ता, नामसारी, नवीकरण, जरिवाना, सवारी कर, रुट पर्मिट, पञ्जिकरण लगायत यातायात क्षेत्रको दस्तुर र कर वापत यस्तो दस्तुर सङ्कलन हुने गरेको छ । यसरी सङ्कलन भएको रकम मन्त्रालयको खातामा जाने र त्यहाँबाट प्रदेश सञ्चित कोषमा ६० प्रतिशत रहने सूचना अधिकारी कार्कीले बताउनुभयो । बाँकी ४० प्रतिशत स्थानीय तहको कोषमा जम्मा गरिने उहाँको भनाई छ ।
Discussion about this post